काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयको सचिवालय सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य हुँ भन्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धम्की दिने आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ का सुजन विश्वकर्मा रहेका छन्। उनलाई सोमबार पक्राउ गरिएको झापाकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन्।
प्रहरीका अनुसार विश्वकर्माले आफ्नो गलत परिचय दिँदै सरकारी कार्यालय तथा शैक्षिक संस्थाका बैठकमा प्रवेश गर्ने र कर्मचारी तथा अन्य व्यक्तिलाई दबाब तथा धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनले आफू प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य तथा रास्वपाको केन्द्रीय सदस्य भएको बताउँदै विभिन्न व्यक्तिलाई प्रभावित पार्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
विश्वकर्माविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिइन्।
