काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा रहेको गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा मंगलबार बिहान करिब २ बजे प्रहरी टोलीले क्यासिनोमा छापा मारेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा चेकजाँच गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, १ हजार रुपैयाँ अंकित क्वाइन ८८ थान र १०० रुपैयाँ अंकित क्वाइन ५ थान बरामद गरेको छ। साथै नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रामेछापका बिकी लामा, सोलुखुम्बुका नुवाङ शेर्पा र पाशाङ शेर्पा, सिन्धुलीकी ज्योती मगर, दोलखाका नारायण खत्री, काठमाडौंका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका संजय तामाङ, रामेछापका आषिश खड्का, ललितपुरका सविनमान श्रेष्ठ र धनकुटाका सुदिप अधिकारीसहित १९ जना रहेका छन्।
उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
