सिरहा । सिरहाको नरहा गाउँपालिकामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना साइकलयात्री घाइते भएका छन्।
शनिबार बिहान करिब ७ः३५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नरहा गाउँपालिका–३ रोजी मेडिकलनजिक गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा नरहा गाउँपालिका–३ कै अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही स्थानका अन्दाजी ४५ वर्षीय साइकलयात्री राजातुल अंसारीको दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का अन्दाजी २५ वर्षीय कमलेश महतो सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
