काठमाडौं । त्रिपुरेश्वरमा सोमबार भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ।
ट्राफिक प्रहरीसँगको झडपपछि आक्रोशमा उनले आफूले चलाएको बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगजनीमा परी गम्भीर घाइते भएका तामाङको गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार मृतक तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा हुन्। उनका बुबाको नाम श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङ रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा तामाङ यसअघि पनि दुईवटा घटनामा संलग्न रहेको र ती घटनामा अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको छ।
प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि तामाङ संलग्न थिए। घटनापछि उनी फरार भएका थिए। उक्त समयमा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, करिब तीन महिनाअघि मलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको छ।
त्रिपुरेश्वरको पछिल्लो घटनामा भने उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ। सोही अनुमतिपत्र फेला परेपछि प्रहरीले उनी दाबा लामा भएको जानकारी सञ्चारमाध्यमलाई दिएको थियो।
थप अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गर्दै आएको तथ्य फेला परेको एसएसपी घिमिरेले बताएका छन्।
अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा सरकारी कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
