ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुल पक्राउ परेका छन्।
ग्यास सिलिन्डरको सिलबन्दी खोलेर ग्यास रित्तो भएको भन्दै कृत्रिम अभाव सिर्जना गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले स्टोरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले सिलबन्दी गरिएका २ वटा र सिलबन्दी नभएका तर ग्यास भरिएका २२ वटा गरी २४ वटा सिलिन्डर बरामद गरेको छ।
४७ वर्षीय नेम्कुललाई बरामद सिलिन्डरसहित नियन्त्रणमा लिएर प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी गौतम मिश्रका अनुसार ग्यासको कृत्रिम अभाव सिर्जना गरेको कसुरमा नेम्कुलमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
