• Sunday 4th of October 2026

पाँच जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । झापा, ललितपुर र कैलालीका विभिन्न स्थानमा गरी मङ्गलबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

झापाको गौरीगञ्ज गाउँपालिका–१ र गौरादह नगरपालिका–९ को बीच भागमा रहेको कमला खोलामा नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा पनि नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्। ललितपुरकै बागमती गाउँपालिका–१ टिकाभैरव घुसेलस्थित छाला बेसीमा रहेको बागमती खोलाको किनारमा सर्लाही लालबन्दी नगरपालिका–१४ घर भएका ८२ वर्षीय बखत सिंह लो तामाङको शव फेला परेको छ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–४ गिधिनियास्थित सडकमा सोही ठाउँ बस्ने ४२ वर्षीय अबिराम जैशी मृत अवस्थामा फेला परेका छन्। कैलालीकै चुरे गाउँपालिका–१ निगाली बस्ने ५२ वर्षीय यज्ञ बहादुर बोहरा सोही वडास्थित तुलिखेत जङ्गलको भिरमा मृत फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖