• Sunday 4th of October 2026

बसमा भीषण आगलागी, ९ यात्रुको मृत्यु


  • धनकुटा खबर
  • .

नोएडा । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडामा यमुना एक्सप्रेस–वेमा चलिरहेको स्लीपर बसमा आगलागी हुँदा नौ यात्रुको मृत्यु भएको छ । घटनामा केही यात्रु घाइते भएका छन् ।

जेवर विमानस्थलनजिक बुधबार राति करिब १२ बजे नोएडाबाट महोबातर्फ जाँदै गरेको बसमा अचानक आगो लागेको हो । बसमा करिब ३०–३५ जना यात्रु सवार रहेको बताइएको छ ।

आगो लागेको थाहा पाएपछि केही यात्रु बसबाट बाहिर निस्किएर ज्यान जोगाउन सफल भए पनि आगो तीव्र रूपमा फैलिएपछि केही यात्रु बसभित्रै फसेका थिए । आगलागीमा नौ जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

यात्रु सुनील कुमारले प्रहरीमा दिएको उजुरीअनुसार, बसमा यात्रा गरिरहेका केही यात्रुले केबिनबाट जल्ने गन्ध आएको भन्दै चालक र परिचालकलाई जानकारी गराएका थिए । तर चालकले तत्काल बस रोकेर जाँच नगरेको उनको आरोप छ । केही समयपछि चालकको सिटनजिकैबाट आगोको ठूलो लप्का निस्किएको उजुरीमा उल्लेख छ ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । जेवर कोतवाली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चासो व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएका छन् । उनले घाइतेको उचित उपचार र पीडित परिवारलाई आवश्यक सहयोगको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖