सञ्जय मिश्रा/रौतहट, ९ असोज। मधेश प्रदेश संग जोडिएको भारतको बिहारस्थित जमुई जिल्लामा नाबालिग छात्रामाथि भएको भनिएको जघन्य घटनाप्रति त्यहाँका वकिलहरूले कडा रूपमा प्रस्तुत भएका छन्।
जमुई जिल्ला बार एसोसिएसनले आरोपी नन्दन यादवको पक्षबाट अदालतमा कुनै पनि वकिलले मुद्दा न लड्ने निर्णय गरेको जनाएको छ।
जिल्ला बार एसोसिएसनका अध्यक्ष सीताराम सिंह र महासचिव अमित कुमारले जारी गरेको प्रेस विज्ञप्तिमार्फत सबै अधिवक्तालाई आरोपीको बचाउमा बहस नगर्न अपिल गरिएको छ।
बार एसोसिएसनले घटनालाई गम्भीर अपराधका रूपमा लिँदै प्रहरी तथा न्यायिक प्रशासनसँग मुद्दालाई शीघ्र सुनुवाइ (स्पिडी ट्रायल) मार्फत अघि बढाउन मागसमेत गरेको छ। दोष प्रमाणित भए आरोपीलाई प्रचलित कानुनअनुसार कडा सजाय दिनुपर्ने उसको माग छ।
बार एसोसिएसनको यस्तो निर्णयले घटनाप्रति स्थानीय कानुनी समुदायको आक्रोश र सामाजिक दबाबलाई देखाउँछ। तर कुनै पनि अभियुक्तलाई आफ्नो पक्ष राख्ने तथा कानुनी प्रतिनिधित्व पाउने अधिकार न्यायिक प्रक्रियाको महत्वपूर्ण हिस्सा हो। त्यसैले वकिलहरूले पैरवी नगर्ने निर्णय भए पनि अन्तिम दोषी वा निर्दोषको टुंगो प्रमाण र न्यायिक प्रक्रियाबाट अदालतले नै लगाउने हुन्छ।
स्पिडी ट्रायलको मागले भने पीडितलाई शीघ्र न्याय दिलाउने र मुद्दालाई अनावश्यक रूपमा लम्बिन नदिने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ।
