नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीको जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ।
असोज ९ गतेको वर्षापछि नारायणीको बहाव बढेर थारुटोलाका घरमा पानी पसेपछि असोज १० गते बिहान पौने ९ बजे सशस्त्र प्रहरी टोली उद्धारका लागि खटिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ स्थानीयको उद्धार गरेको हो।
उद्धार टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका नागरिक तथा चौपायालाई सुस्ता–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।
