काठमाडौँ । काठमाडौँको बल्खुमा युवकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ घर भई हाल बल्खु बस्ने ३४ वर्षीय रिच्याड भन्ने सुमन लामामाथि असोज ५ गते राति बर्नहाट कलेज पछाडिको गल्लीमा खुकुरी प्रहार भएको थियो।
घटनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्राविधिक तथा सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा असोज ९ गते विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सन्तोष तामाङ, सोमबहादुर तामाङ, सुवास भन्ने सुनिल तामाङ र धीरज भन्ने बलराम यादव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको एक थान खुकुरी, फलामको दाप तथा घटनाका बेला लगाएका कपडा बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
