• Sunday 4th of October 2026

व्यस्त जीवनमा सम्बन्ध कसरी बलियो बनाउने? पार्टनरलाई सधैँ सोध्नुहोस् यी ५ कुरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । धेरै पटक सम्बन्धमा कुनै ठुलो समस्या हुँदैन, तापनि दुवैबिच कुराकानी बिस्तारै कम हुन थाल्छ। दिनभरको काम, घरको जिम्मेवारी र मोबाइलमा व्यस्त रहने कारणले दम्पती एकअर्काको साथमा भए पनि मनका कुरा गर्न पाउँदैनन्।

यस्तो अवस्थामा साना-साना कुराकानीले सम्बन्धमा आत्मीयता कायम राख्न मद्दत गर्न सक्छ। हरेक कुराकानी लामो हुनुपर्छ वा त्यसमा कुनै विशेष विषय हुनैपर्छ भन्ने जरुरी छैन।

कहिलेकाहीँ पार्टनरको दिन, मन र आवश्यकताको बारेमा सोध्नु नै पर्याप्त हुन्छ। यदि श्रीमान्-श्रीमती वा पार्टनरले दैनिक रूपमा एकअर्कालाई केही सामान्य प्रश्न सोध्ने बानी बसाले भने, उनीहरूले एकअर्कालाई बुझ्ने अझ राम्रो अवसर पाउन सक्छन्। यही सानो बानीले सम्बन्धमा विश्वास र सामीप्यलाई बलियो बनाउन मद्दत गर्न सक्छ।

१. आज तपाईंको दिन कस्तो रह्यो?

दिन कस्तो रह्यो भन्ने प्रश्न सुन्दा निकै सामान्य लाग्छ, तर यसको प्रभाव गहिरो हुन सक्छ। धेरै पटक मानिसहरू आफैँ अग्रसर भएर दिनभरको थकान वा कुनै समस्याबारे बताउँदैनन्। जब पार्टनरले मायाले सोध्छन्, तब उसलाई आफ्नो कुरा बाँड्ने मौका मिल्छ।

यस प्रश्नको जवाफमा केवल ‘ठीकै थियो’ सुनेर कुराकानी टुङ्ग्याउनुको सट्टा अलिकति थप जान्ने प्रयास गर्नुहोस्। यदि अगाडिको व्यक्तिले कुनै समस्याको चर्चा गर्छ भने, तुरुन्तै सल्लाह दिनुको साटो पहिले उसको कुरा ध्यान दिएर सुन्नुहोस्। यसबाट उसलाई आफ्नो भावना र अनुभवको तपाईंका लागि महत्त्व छ भन्ने महसुस हुन सक्छ।

२. के आज तपाईंलाई खुसी दिने कुनै कुरा भयो?

सम्बन्धमा कुराकानी सधैँ समस्याकै वरिपरि मात्र घुम्नु हुँदैन। दिनभरि भएका कुनै साना राम्रा कुरा पनि साटासाट गर्न सकिन्छ। जस्तै- कार्यालयमा कसैले प्रशंसा गरिदिएको कुरा, मनपर्ने खाना खाएको कुरा वा बाटोमा भएको कुनै रमाइलो घटना।

यो प्रश्नले पार्टनरलाई आफ्नो दिनको सकारात्मक पाटामा कुरा गर्ने मौका दिन्छ। साथै, दुवैलाई एकअर्काको रुचि र साना खुसीहरूबारे जान्ने अवसर पनि प्राप्त हुन्छ। बिस्तारै यस्ता कुराकानीले दैनिक सम्बन्धमा सहजता र आत्मीयता कायम राख्न सक्छ।

३. के आज कुनै कुराले तपाईंलाई नराम्रो लाग्यो?

धेरै मानिस साना असन्तुष्टिहरू तुरुन्तै व्यक्त गर्दैनन्। कुरा बढ्न सक्छ वा अगाडिको व्यक्तिले आफैँ बुझ्नेछ भन्ने उनीहरू सोच्छन्। तर मनमा कुराहरू थुप्रिँदै गए भने दूरी बढेको महसुस हुन थाल्छ।

त्यसैले आज कुनै कुराले दुःख वा नराम्रो लाग्यो पो छ भनी कहिलेकाहीँ सोध्न जरुरी हुन्छ। जवाफमा कुनै गुनासो आएमा त्यसलाई तुरुन्तै आफ्नो प्रस्टीकरण दिने अवसर नबनाउनुहोस्।

अगाडिको व्यक्तिलाई कुन कुराले समस्या भयो भनी पहिले बुझ्ने प्रयास गर्नुहोस्। हरेक गुनासोको अर्थ गल्ती जानीजानी गरिएको हो भन्ने हुँदैन। खुलेर कुरा गर्नाले गलत बुझाइहरू कम हुन सक्छन्।

४. म आज तपाईंका लागि कसरी केही राम्रो गर्न सक्छु?

यो प्रश्नले सम्बन्धमा माया मात्र नभई सहयोगको भावना पनि देखाउँछ। पार्टनर थकित भएको हुन सक्छ र उसलाई आराम चाहिएको हुन सक्छ। सायद उसलाई घरको कुनै काममा मद्दत चाहिएको हुन सक्छ वा केही समय साथमै बिताउन चाहेको हुन सक्छ।

यस्तो प्रश्नले दुवैलाई आफ्ना आवश्यकताहरू स्पष्ट शब्दमा बताउने मौका दिन्छ। यसले अनुमान लगाउनुको साटो सिधै कुराकानी गर्ने बानीको विकास गराउन सक्छ। सम्बन्धमा साना आवश्यकताहरू बुझ्नाले धेरै पटक ठूला मतभेदहरू बढ्नबाट रोक्न मद्दत गर्छ।

५. के आज तपाईंले आफ्नो लागि अलिकति समय निकाल्नुभयो?

सम्बन्धमा सँगै रहनु जरुरी छ, तर हरेक व्यक्तिलाई आफ्नो लागि पनि समय चाहिन्छ। काम, परिवार र अन्य जिम्मेवारीको बिचमा धेरै मानिसले आफ्नो रुचि र आरामलाई बेवास्ता गर्छन्।

पार्टनरलाई उसको आफ्नै समयको बारेमा सोध्नु हेरचाहको एउटा सरल तरिका हुन सक्छ। यदि उसले आज पूरा दिन व्यस्त रहेको कुरा बताउँछ भने, सानो मद्दत वा आरामको अवसर दिन सकिन्छ। यसरी नै दिनमा केही समय फोनविना केवल कुराकानीका लागि मात्र छुट्याउने निर्णय पनि दुवै मिलेर गर्न सक्छन्।

प्रश्न सोध्नुभन्दा बढी जरुरी छ जवाफ सुन्नु
यी प्रश्नहरूको फाइदा तब मात्र हुन्छ, जब दुवैले एकअर्काको जवाफलाई ध्यान दिएर सुन्छन्। हरेक प्रश्न दैनिक सोध्नैपर्छ भन्ने जरुरी छैन। कुराकानीलाई कुनै नियम वा औपचारिक दिनचर्या जस्तो बनाउनुको साटो सहज राख्नुहोस्। कहिले दिनभरका राम्रा कुरामा छलफल गर्नुहोस् त कहिले कुनै समस्याको बारेमा सोध्नुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖