काठमाडौं । गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ घर भई काठमाडौं बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल रहेका छन् ।
सामाजिक सञ्जालमा आफू गृहमन्त्रीका मान्छेसँग नजिकको सम्बन्धमा रहेको दाबी गर्दै ‘जेलमा नाइके हामी तोक्छौँ’ लगायतका कुरा गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मल्ललाई कागेश्वरी मनोहरा नगरपालिका–५ बाट पक्राउ गरिएको हो ।
उक्त अडियोबारे सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा मल्लविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा दुई दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले बताए ।
यस्तै, सीआरएस विवरणअनुसार मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बैंकिङ कसुरसम्बन्धी ६ वटा जाहेरी दर्ता भएका छन् । ती मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ ।
