बागलुङ । अविरल वर्षाका कारण बागलुङ जिल्लामा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार असोज ९, १० र ११ गते परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा पहिरो जाँदा ५ पुरुष, ४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो।
प्रहरीका अनुसार वर्षाका कारण ५१ घर पूर्णरूपमा र ५१ घर आंशिक रूपमा क्षति भएका छन्। यस्तै, १० गोठ पूर्ण र एउटा गोठ आंशिक क्षति भएको छ।
वर्षाका कारण तीनवटा झोलुङ्गे पुल पूर्णरूपमा क्षति भएका छन्। दुईवटा प्रहरी कार्यालय, दुईवटा हाइड्रोपावर र एउटा विद्यालयमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
त्यस्तै, एउटा वडा कार्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्म पूर्णरूपमा क्षति भएका छन्।
प्राकृतिक विपत्तिका कारण २५६ वटा पशुचौपाया र २१५ वटा कुखुरासमेत मरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेकाले क्षतिको थप विवरण पछि सार्वजनिक गरिनेछ।
