• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

लस्कर कमान्डर हाशिम मुसा मारिएको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित बडगाम जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच भएको मुठभेडमा एक जना मारिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति लस्कर-ए-तैयबाका कमान्डर हाशिम मुसा भएको दाबी गरिएको छ ।

खानसाहिबको पालमेदन मुगपथरी जंगल क्षेत्रमा मंगलबार राति सुरक्षाकर्मीले आतंकवादी लुकेको सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरेका थिए । सो क्रममा गोली हानाहान भएको र एक जना मारिएको बताइएको छ ।

भारतीय सेनाका अनुसार भारतीय सेना, जम्मू-कश्मीर प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को संयुक्त टोलीले यूसमर्गको कोराग क्षेत्रमा खोजी अभियान चलाएको थियो । संदिग्ध गतिविधि देखिएपछि आतंकवादीले गोली चलाएपछि मुठभेड भएको सेनाले जनाएको छ । घटनालाई ‘अपरेसन कोराग’ नाम दिइएको छ ।

क्षेत्रमा थप आतंकवादी लुकेको हुनसक्ने आशंकामा खोजी अभियान जारी रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बरमा जम्मू-कश्मीरका विभिन्न जिल्लामा भएका कारबाहीमा अहिलेसम्म पाँच जना आतंकवादी मारिएका छन् । सेप्टेम्बर १७ मा उधमपुरमा जैश-ए-मोहम्मदसँग सम्बन्धित दुई पाकिस्तानी आतंकवादी मारिएका थिए भने सेप्टेम्बर ९ मा डोडामा लस्कर-ए-तैयबासँग सम्बन्धित एक आतंकवादीको शव फेला परेको थियो ।

बडगाममा सेप्टेम्बर ५ मा यासिर नामका आतंकवादी मारिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमले हाशिम मुसालाई सन् २०२२ देखि सक्रिय लस्कर-ए-तैयबाको चार सदस्यीय समूहका सदस्यका रूपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖