• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

शौचालयको ट्यांकीमा निसास्सिएर बाबुको मृत्यु, छोरा गम्भीर


  • धनकुटा खबर
  • .

रौतहट १४ असोज। भारतको बिहारस्थित मोतिहारीमा निर्माणाधीन शौचालयको ट्यांकीमा निसास्सिएर एक मजदुरको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।

बुधवार बिहान सीमावर्ती बजार घोडासहन थाना क्षेत्रको पकही गाउँमा शौचालयको ट्यांकीको सेन्ट्रिङ खोल्ने क्रममा घटना भएको हो। मृत्यु हुनेमा पथलु राय रहेका छन्। उनका २५ वर्षीय छोरा पवन कुमार गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बाबुछोरा दुवै पकही गाउँका कादिर दीवानको घरमा निर्माण गरिएको शौचालयको ट्यांकीको सेन्ट्रिङ खोल्न पुगेका थिए। ट्यांकीभित्र पसेलगत्तै अक्सिजनको कमीका कारण पथलु राय बेहोस भएर ढलेका थिए।

बाबु लामो समयसम्म बाहिर नआएपछि छोरा पवन कुमार उनलाई हेर्न ट्यांकीभित्र पसे। बाबु बेहोस अवस्थामा रहेको देखेपछि उनलाई बाहिर निकाल्ने प्रयास गर्दा पवनसमेत बेहोस भएका थिए।

घटनापछि स्थानीयवासीले निकै प्रयास गरेर दुवैलाई ट्यांकीबाट बाहिर निकाली उपचारका लागि अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले पथलु रायलाई मृत घोषणा गरेका थिए। पवन कुमारको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको जनाइएको छ।

घटनाको सूचना पाएपछि घोडासहन थानाका पुलिस इन्स्पेक्टर अमरजीत कुमार नेतृत्वको टोली घटनास्थल पुगेको थियो। प्रहरीले पथलु रायको शव नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖