सर्लाही । गोली हानी हत्या गरेको घटनामा १८ वर्षदेखि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०६५ साल फागुन १२ गते नेत्रगञ्ज गाविस–२ स्थित खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा वीरन पासवान मृत फेला परेका थिए। चिताइन मेला हेर्न घरबाट निस्किएका पासवान राति करिब १० बजे मृत अवस्थामा भेटिएका थिए।
अनुसन्धानका क्रममा घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–२ का इन्दल पासवानसमेत संलग्न रहेको खुलेपछि उनी घटनापछि फरार थिए।
इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरसँगको समन्वयमा प्रहरीले इन्दललाई लालबन्दी–२ बाट पक्राउ गरेको हो। अनुसन्धानपछि सर्लाही जिल्ला अदालतको असोज १३ गतेको आदेशले उनलाई पुर्पक्षका लागि सर्लाही कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इन्दल यसअघि हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका छन्। उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँका मुद्दासमेत चलेको प्रहरीले जनाएको छ।
