काठमाडौँ । भारतबाट लागु औषध खैरो हेरोइन ल्याई काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने गिरोहविरुद्धको कारबाहीका क्रममा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादी र एक भारतीय महिला रहेका छन्।
ब्यूरोको टोलीले असोज १३ गते काठमाडौँको चन्द्रागिरी नगरपालिका-७ सतुङ्गलबाट लमजुङ बेसीशहर नगरपालिका-२ ठेगाना भएका २७ वर्षीय विक्रम गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र नगद रु. ७ लाख बरामद भएको थियो।
गुरुङमाथि गरिएको थप अनुसन्धानका क्रममा भारतको सिलगुढीबाट काठमाडौँमा खैरो हेरोइन ल्याएर आपूर्ति गर्ने भारत पश्चिम बंगाल ठेगाना भएकी ५० वर्षीया प्रिया भुजेललाई असोज १४ गते चन्द्रागिरी-१२ बाट १८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका विक्रम गुरुङ यसअघि २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइन मुद्दासम्बन्धी कारबाहीका क्रममा जगन्नाथ देवल कारागारमा थुनामा रहेका थिए। उनी जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएको प्रहरी अभिलेखबाट खुलेको छ।
दुवै जनामाथि लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।
