काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। देउवा सहभागी हुने सम्भावना नरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
कांग्रेसले आज असोज १८ गते काठमाडौंको खुलामञ्चमा आयोजना गरेको उद्घाटन समारोहमा सहभागी हुन देउवालाई निमन्त्रणा पठाएको थियो। तर, निमन्त्रणा गर्ने शैलीप्रति देउवा पक्ष असन्तुष्ट देखिएको छ।
स्वकीय सचिव भानु देउवाका अनुसार शनिबार राति अबेर देउवा बस्दै आएको चुनदेवीस्थित निवासमा कांग्रेसको टोली पुगेको थियो। घरमा कोही नभएको अवस्थामा निमन्त्रणापत्र बाहिरै छाडेर टोली फर्किएको उनको भनाइ छ।
“हिजो राति अबेर आएर निमन्त्रणा बाहिरै छोडेर जानुभएको रहेछ। निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअगाडि नै आएर दिए हुन्थ्यो,” भानुले भने, “घरमा कोही नभएका बेला आएर निमन्त्रणा छोडेर पनि कहीँ हुन्छ ?”
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोलीले देउवा निवास पुगेर उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा छाडेको थियो। उनलाई समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो।
