काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि आज कुर्सी खाली राखेको बताएका छन्।
पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महाधिवेशनमा उद्घाटन समारोहमा देउवा आउने विश्वासले कुर्सी खाली राखेको बताए ।
उनले भने, ‘केही साथीहरू रिसाउनुभएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनुभएको छैन। कसैले तपाईँलाई यहाँबाट फर्केर गएर सोध्यो भने भन्दिनुहोला, हामीले आज शेरबहादुर देउवाको लागि कुर्सी खाली राखेका थियौँ । आज शेरबहादुर दाइ हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो। तर केही छैन, यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन ।’
पूर्वसभापति देउवाको मान राख्नु भनेको कतिपटक ढोकामा गएर सलामी दियो भन्ने कुरामा निर्भर नहुने बताए।
उनले थपे, ‘शेरबहादुर दाइको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भन्दिनुहोला, मान राख्ने भनेर दिनमा कतिपटक शेरबहादुर दाइको ढोकामा गएर कतिपटक सलामी दियो भन्ने कुराले मान रहने होइन । शेरबहादुर देउवाले काम गर्नुभएको पार्टीलाई अग्लो बनायो कि बनाएन ? फराकिलो बनायो कि बनाएन ? मान त्यहाँबाट रहने हो ।
यो मान हामी राख्छौँ भनेर तपाईँले भन्दिनुहोला ।’
