काठमाडौं । अमेरिकाको म्यासाचुसेट्स तटनजिकै एक मेडिकल ट्रान्सपोर्ट विमान शनिबार बेपत्ता भएको छ।
बर्मुडाबाट बोस्टनतर्फ जाँदै गरेको यस विमानमा सवार छ जना मानिसहरूको अब जीवित रहने सम्भावना नरहेको आशङ्का गरिएको छ।
विमान सञ्चालन गर्ने कम्पनी ल्याटिट्युड एयर एम्बुलेन्सले आइतबार यस कुराको पुष्टि गरेको छ।
कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ, ‘अहिले हामीले यो दुःखद सत्यको सामना गर्नुपर्ने भएको छ कि हाम्रो ल्याटिट्युड टोलीका चार जना सदस्य, हाम्रा बिरामी र बिरामीका साथमा गइरहेका परिवारका सदस्य, जो हार्टबिट १०४ मा सवार थिए, उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ।”
अमेरिकी तटरक्षक बलले आइतबार साँझ म्यासाचुसेट्सको न्यानटुकेट द्वीपको तटनजिकै विमानमा सवार मानिसहरूको खोजी कार्य समाप्त गरेको छ। यसअघि शनिबार साँझ अधिकारीहरूले समुद्रमा विमानको भग्नावशेष भेट्टाएका थिए, जसको पहिचान बेपत्ता विमानको मलबाका रूपमा गरिएको थियो।
फ्लाइट ट्र्याकिङ सेवा ‘फ्लाइटअवेयर’को तथ्याङ्क अनुसार, विमानले शुक्रबार राति बर्मुडाको एल.एफ. वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार राति ११:४० बजे उडान भरेको थियो।
विमानलाई शनिबार राति करिब १:३० बजे बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु पर्ने थियो।
यद्यपि, शनिबार बिहानै करिब १ बजे अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेशनसँग विमानको सम्पर्क विच्छेद भएको थियो।
