काठमाडौं । इजरायलतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा भारतीय क्याप्टेन स्मित मछारमाथि आक्रमण गर्ने को-पाइलटले एक्लै यो घटना गराएको हुन सक्ने सम्भावना व्यक्त गरिएको छ। आइतबार सार्वजनिक भएका मिडिया रिपोर्टहरूमा यो दाबी गरिएको छ। यद्यपि, अन्तर्राष्ट्रिय अनुसन्धान एजेन्सीहरू अझै पनि यो आक्रमणको मुख्य उद्देश्य पत्ता लगाउन जुटेका छन्।
अभियुक्त सह-पाइलटको पहिचान ओमानका नागरिक हमाम अल-हमामीका रूपमा बताइए पनि आधिकारिक रूपमा अझै उनको पहिचानको पुष्टि हुन बाँकी छ। ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्टअनुसार कट्टरपन्थी विचारका कारण अल-हमामीलाई यसअघि ओमानमा विमान उडाउन रोक लगाइएको थियो।
‘सीएनएन’को रिपोर्टअनुसार, एक इजरायली अधिकारीले प्रारम्भिक अनुसन्धानका आधारमा संदिग्धले सम्भवतः एक्लै आक्रमण गरेको (लोन-वुल्फ) बताएका छन्। अर्का एक इजरायली स्रोतका अनुसार हालसम्म इजरायललाई ती अभियुक्तको कुनै पनि आतङ्ककारी सङ्गठन वा सरकारसँग सीधा सम्बन्ध रहेको जानकारी प्राप्त भएको छैन। तथापि, दुवै अधिकारीहरूले यो अनुसन्धानको वर्तमान अवस्थामा आधारित बुझाइ मात्र भएको स्पष्ट पारेका छन्।
‘सीबीएस न्युज’ ले पनि इजरायलको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै विमान हाइज्याक/क्र्यास गराउने यो प्रयास ‘लोन-वुल्फ’ आक्रमण हुन सक्ने जनाएको छ। अनुसन्धान अझै जारी छ र सबै सम्भावनाहरूको सूक्ष्म अध्ययन भइरहेको छ। संयुक्त अरब इमिरेट्स र इजरायल दुवैले यस मामलाको अनुसन्धान गरिरहेका छन्।
उता साउदी अरबको गृह मन्त्रालय पनि अनुसन्धानमा जुटेको छ, जहाँ विमानको आपत्कालीन अवतरण गराइएको थियो। युएईले शनिबार आफ्नो प्रारम्भिक अनुसन्धानमा सह-पाइलटले ‘आतङ्कवादी कृत्य’ गर्ने प्रयास गरेको देखिएको बताएको थियो।
बुधबार फ्लाईदुबईको उडान एफजेड १०७३ दुबईबाट इजरायल जाँदै गर्दा क्याप्टेन स्मित मछारमाथि आक्रमण भयो। यस क्रममा विमान केही मिनेटमै हजारौँ फिट तल खस्यो। गम्भीर घाइते भए तापनि क्याप्टेन मछारले ककपिटको ढोका खोलेर यात्रु तथा क्रु मेम्बरहरूलाई खतराको सङ्केत दिए। त्यसपछि यात्रु र क्रु मेम्बरहरूले ककपिटमा पुगेर सह-पाइलटलाई नियन्त्रणमा लिई विमानलाई थप दुर्घटना हुनबाट बचाउन मद्दत गरे।
विमानमा कुल १७४ जना (अन्य रिपोर्टअनुसार १८४ सम्म) यात्रु तथा चालक दलका सदस्यहरू सवार थिए। घटनाका क्रममा विमानले आपत्कालीन सङ्केत पठायो र करिब ३४ हजार फिटको उचाइबाट तीव्र गतिमा घटेर १७ हजार फिटभन्दा बढी तल आयो।
यसैबिच यस घटनाको अनुसन्धान अस्ट्रेलियासम्म पुगेको छ। अस्ट्रेलियन फेडरल प्रहरीले अल-हमामीको अस्ट्रेलियासँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ। अस्ट्रेलियन मिडियाका अनुसार उनले सन् २०१४ मा विद्यार्थी भिसा पाएका थिए र २०१५ देखि २०१७ सम्म अस्ट्रेलियामा अध्ययन गरेका थिए। पछि सन् २०१९ मा उनको भिसा रद्द गरिएको थियो। ‘एबीसी’ को रिपोर्टअनुसार, उनको भिसा खराब चरित्रका कारण नभई अध्ययन संस्थानमा भर्ना नरहेका कारण रद्द गरिएको थियो।
