साउदी अरब । साउदी अरबमा फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा २४ वर्षीय श्रीलंकाली आप्रवासी कामदार अनुजन सिवारासालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
अपिल अदालतले शरिया कानुनअन्तर्गत मुद्दा अघि बढाउँदै मृत्युदण्डको फैसला गरेको हो। यसअघि उनलाई पाँच वर्ष जेल र ३० लाख साउदी रियाल जरिवानाको सजाय सुनाइएको थियो।
श्रीलंकाली नागरिक सिवारासाले श्रीलंकामा धार्मिक विवादका क्रममा फेसबुकमा तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेका थिए। उनले उक्त टिप्पणी तत्काल हटाएर माफीसमेत मागेका थिए। तर, टिप्पणीको स्क्रिनसट रोजगारदाता र साउदी अधिकारीसमक्ष पुगेपछि उनलाई जुलाईमा पक्राउ गरिएको थियो।
श्रीलंकाली सरकारले उनलाई आममाफी दिलाउन कूटनीतिक पहल गरिरहेको जनाएको छ। परिवारले भने सेप्टेम्बर २८ यता उनीसँग सम्पर्क हुन नसकेको बताएको छ। साउदी सरकारले मृत्युदण्ड कार्यान्वयनको मिति भने सार्वजनिक गरेको छैन।
