काठमाडौँ, २१ असोज । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार घटेको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.६३ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।
१३ मध्ये एक उपसमूहको मात्र परिसूचक बढेको छ । बैंकिङ उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत घटेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार तीन अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५९ स्टकको ३९ हजार ४६६ पटकको कारोबारमा तीन अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज घलेम्दी हाइड्रो कम्पनीको ३२ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २९ करोड रुपैयाँ र पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
घलेम्दी हाइड्रोको सेयरमूल्य बुधबार ६.२५ प्रतिशत बढेको छ। एआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब ६ प्रतिशत र इंगवा हाइड्रोपावरको सेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।
