बारा । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्। घरायसी विवादका क्रममा उनका श्रीमान् ५५ वर्षीय विजय मोक्तानले लहराको टुक्राले कुटपिट गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायालाई स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई स्वास्थ्य परीक्षण तथा औषधि उपचार गराइएको थियो। त्यसपछि असोज २१ गते राति करिब ८ बजे खाना खाएर उनी सुतेकी थिइन्।
असोज २२ गते बिहान करिब ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा सुकुमाया नउठेपछि बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाबारे जानकारी गराइएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ।
घटनामा संलग्न रहेको आरोपमा विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
