• Thursday 8th of October 2026

गोली प्रहार गरी लुटपाटमा संलग्न तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी तथा हातहतियार देखाएर सुनका गरगहना, नगद र बहुमूल्य धनमाल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ जडीबुटी पुलमुनिबाट सिन्धुली मरिण गाउँपालिका–५ का २६ वर्षीय आयन माझीलाई बा.प्र. ०२–०२७ प ५७७३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिन खोजिएको थियो।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेका थिए। प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गर्दा पनि नियन्त्रणमा नआएपछि तत्कालको सुरक्षा जोखिमलाई ध्यानमा राखी घुँडामुनि एक राउण्ड गोली प्रहार गरिएको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

माझीको साथबाट लुटपाटमा प्रयोग भएको दुई वटा मोटरसाइकल, लुटपाटमा प्रयोग गर्न बनाइएका पाँच वटा नम्बर प्लेट र एक थान खुकुरी बरामद गरिएको छ।

यस्तै, लुटपाटमा संलग्न माझी समूहका अन्य व्यक्तिको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका–४ बाट मकवानपुर बकैया गाउँपालिका–७ का ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय रोकेश थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई वारदातका समयमा प्रयोग गरेका कपडासहित नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖