• Tuesday 20th of October 2026

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी मंगलबार बिहान दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल पठाइएको थियो। घाइतेमध्ये अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पतालमा रिफर गरिएको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, कैलालीका तीन वर्षीय समीर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय विर्ख टमटा र २० वर्षीया शारदा टमटा घाइते भएका छन्।

त्यस्तै, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, पञ्चदेवल विनायक नगरपालिका–८ का ३५ वर्षीय धीराज विक, कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी र सोही ठाउँकी २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार जीवनकला बयक, हेमन्त तिमल्सिना र गोपाल बोगटीको अवस्था मध्यम रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ।

दुर्घटनापछि गाडीका चालक अछामका ३५ वर्षीय विष्णु शाही फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सकुशल रहेका बालबालिकासहित १० जना यात्रुलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖