धनुषा । बर्दिबासमा ईभी, मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने उनकी श्रीमती र तीन वर्षीया छोरीसहित तीन जना घाइते भएका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा भएको दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ घर भई हाल बर्दिबास नगरपालिका–१ गालटार बस्दै आएका ४० वर्षीय सुजनबहादुर मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार दिउँसो १ बजेर ४२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार उनकी ३५ वर्षीया श्रीमती फुलकुमारी थापा र तीन वर्षीया छोरी सिसाकुमारी थापा गम्भीर घाइते भएका छन्। फुलकुमारीको शरीरको भित्री भागमा चोट लागेको छ भने सिसाकुमारीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका–३ ढुंगाटोलका २४ वर्षीय रमेश चौधरी मध्यम घाइते भएका छन्। घाइते तीनै जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ईभी सडकबाट करिब १० फिट तल खसेको थियो। ईभीमा सवार अन्य यात्रुहरू भने सकुशल रहेको र गन्तव्यतर्फ गएको बताइएको छ।
दुर्घटनामा संलग्न ईभी, मोटरसाइकल र स्कुटर घटनास्थलमै रहेका छन्। ती सवारीसाधन हटाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ईभी चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका–७ का करिब २२ वर्षीय मिलन साह भने इलाका प्रहरी कार्यालय बर्दिबासको सम्पर्कमा रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
