सञ्जय मिश्रा/ रौतहट, ११ कार्तिक। पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरका ओटीपी उपलब्ध गराएको आरोपमा भारतको सीमावर्ती सहर रक्सौलबाट दुई युवक पक्राउ परेका छन्। आन्ध्र प्रदेशको विजयवाडा प्रहरी र रक्सौल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मंगलवार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पक्राउ परेका युवकले ओटीपी उपलब्ध गराउन मोबाइल फोन, डेटा तथा अन्य स्रोतसाधन जुटाइदिएबापत रकम लिने गरेका थिए। उनीहरूको साथबाट दुईवटा मोबाइल फोन बरामद गरिएको छ।
विजयवाडा प्रहरी काण्ड संख्या ०१/२०२६ को अनुसन्धानका क्रममा रक्सौलका व्यक्तिहरू पाकिस्तानी एजेन्टसँग जोडिएको सूचना पाएपछि संयुक्त कारबाही गरिएको प्रहरीले जनाएको छ।
उक्त ओटीपी भारतविरोधी गतिविधि तथा कथित साइबर जासुसीमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनामा अन्य व्यक्तिको संलग्नता, आर्थिक कारोबार र ओटीपीको प्रयोगबारे थप अनुसन्धान भइरहेको छ।
सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरेको छैन। उनीहरूमाथिका आरोप भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छन्।
