• Wednesday 28th of October 2026

एनपिएल खेल्न नेपाल आएका सकिबद्वारा प्रतिबन्धित बेटिङको प्रचार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका बङ्गलादेशका चर्चित क्रिकेटर सकिब अल हसनले नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्मको प्रचार गरेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘वान एक्स बेट’ को प्रवर्द्धन गर्दै प्रयोगकर्तालाई खाता खोल्न र सट्टेबाजीमा सहभागी हुन आग्रह गरेका हुन् ।

सकिबले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘एनपिएल सुरु भयो’ भन्दै वान एक्स बेटमार्फत लिगमा बाजी लगाउन आह्वान गरेका छन् । उनले प्रत्येक सोमबार १५ प्रतिशतसम्म साप्ताहिक क्यासब्याक पाइने दाबीसहित आफ्नो ‘रेफरल कोड’ प्रयोग गरेर खाता खोल्न र ‘टेक पार्ट’ विकल्प रोज्न आग्रह गरेका हुन् । उनले यससँग सम्बन्धित भिडियोसमेत पोस्ट गरेका छन् ।

नेपालमा अनलाइन सट्टेबाजी गैरकानुनी रहेको अवस्थामा एनपिएल खेल्न आएका विदेशी खेलाडीले नै यस्तो प्रचार सामग्री सार्वजनिक गरेपछि खेलाडीको सामाजिक सञ्जाल प्रयोग र सट्टेबाजीको विज्ञापनको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) मा सट्टेबाजी गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था छ । सोही दफाको उपदफा (५) अनुसार कुनै खेल वा प्रक्रियामा एउटा पक्षले जिते वा हारेमा चल-अचल सम्पत्ति वा प्रतिफल प्राप्त गर्ने वा गुमाउने गरी बाजी लगाउनु कसुर ठहरिन्छ । यस्तो कसुर गर्नेलाई उपदफा (६) बमोजिम कसुरमा प्रयोग भएको बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले पनि जुवा तथा सट्टेबाजी खेल्न वा खेलाउन प्रोत्साहन गर्ने विज्ञापनलाई पूर्ण रूपमा निषेध गरेको छ । यस्तो विज्ञापन गरेमा प्रचलित कानुनअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

यसअघि नेपाल सरकारले अनलाइन सट्टेबाजी नियन्त्रण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बेटिङ एप र वेबसाइटमा पहुँच रोक्ने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ ।

एनपिएललाई प्रत्यक्ष रूपमा उल्लेख गर्दै बोनस र क्यासब्याकको प्रलोभन देखाएर गरिएको यस प्रचारले क्रिकेट प्रेमी तथा युवा दर्शकलाई सट्टेबाजीमा आकर्षित गर्ने जोखिम देखिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा रहेको प्रतियोगितामा आबद्ध खेलाडीको यस्तो गतिविधि मुलुकको कानुन अनुकूल छ कि छैन भन्ने विषयमा सम्बन्धित नियामक निकाय, आयोजक र सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖