काठमाडौं । जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेलका कर्मचारी, वडाध्यक्ष र लेखापढी व्यवसायीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार भूमि प्रशासन कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अनुसन्धान गर्दा तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालयका अधिकृत, नायब सुब्बा, खरिदार र सहायक कम्प्युटर अपरेटरसहितका कर्मचारी तथा ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्का र दुई लेखापढी व्यवसायीको संलग्नता रहेको आरोप लगाइएको छ।
आयोगका अनुसार जग्गाको पुनः नापीसम्बन्धी विवरण सरकारी अभिलेखमा अद्यावधिक नगरी गलत लिखत तयार पार्ने, अभिलेखमा हेरफेर गर्ने र साविक जग्गाको विवरणका आधारमा अंश बुझेको भरपाई लिखत पारित गराएको पाइएको छ।
यसरी लिखत पारित गरी जग्गाधनी स्रेस्ता तथा पुर्जा तयार गरेबापत सेवाग्राहीबाट लिएको तीन लाख रुपैयाँ आपसमा बाँडफाँट गर्ने योजना बनाएको आयोगको दाबी छ।
आयोगले ११ जनालाई प्रतिवादी कायम गर्दै तीन लाख रुपैयाँ बिगो तथा कानुनबमोजिम सजायको मागदाबीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
