• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री शिवाकोटी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अदालतमा विचाराधीन मुद्धामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् ।

इनमको बयान भनी बाहिर आएको अडियो सुनेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शिवाकोटीले सरकारले जानीजानी इनमको अडियोलाई बनाबटीरूपमा बाहिर ल्याएको आरोप लगाएका छन् । उनले कांग्रेस सभापति गगनकुमार थापालाई जोडेर अडियोमा छेँडखानी गरिएकोसमेत बताएका छन् ।

उनले लेखेका छन्, ‘सरकारले आफ्नो एसेट कसलाई कतिखेर कहाँ प्रयोग गर्छ उसको कुरा हो। तर नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापालाई रक्षात्मक बनाउन बाहिर ल्याइएको कन्टेन्ट पूरा छेडखानी गरिएको रहेछ। आफूलाई यो कुरा चाहियो भनेपछि रेकर्ड गर्न लगाएर बाहिर ल्याइएको अडियो पुरै सुन्दा पनि प्रष्ट हुन्छ।’

सहमहामन्त्री शिवाकोटीले देश चाडबाड मनाउन व्यस्त रहँदा सरकारी प्रोपोगण्डा टीली इनम सापकोटाको बयान भन्दै विपक्षी आवाज थुन्ने गृहकार्यमा लागेको आरोप लगाएका छन् ।

उनले उक्त अडियो भने विभिन्न टुक्रा जोडेर तयार गरिएको स्पष्टै थाहा हुने दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यसमा बिचौलियाको भूमिकामा सरकारले प्रयोग गरेको इनम सापकोटाको टुक्रा टुक्रा जोडेर सिङ्गो जस्तो बनाइएको अडियोको क्वालिटी र त्यसको लय सुन्दा पनि थाहा हुन्छ। प्रहरी हिरासतमा रहँदा रेकर्ड गरिएको बयान (अडियो समेत) अदालतले समेत प्रमाण मान्दैन। दशैंको बेलामा अरु चाडबाड मनाउन व्यस्त रहँदा सरकारी प्रोपोगण्डा टोली सापकोटाको बयान भन्दै विपक्षी आवाज थुन्ने जुन गृहकार्यमा लागेको पाइयो तर त्यो पनि गुणस्तरीय निर्देशकको हातमा नपरेको पुष्टि भयो।’

शिवाकोटीले प्रहरी कहाँ भएको व्यक्तिको बयान अदालतले प्रमाण नमान्ने भन्दै सरकारले आफूमाथि प्रश्न गर्नेहरूलाई तह लगाउन भनेर छनोटपूर्ण तरिकाले बाहिर ल्याएकोसमेत ठोकुवा गरेका छन् ।

उनले लेखेका छन्, ‘अनि प्रहरी कहाँ भएको व्यक्तिको बयान अदालतले त प्रमाण मान्दैन भने त्यसमाथि सरकारले आफूमाथि प्रश्न गर्नेहरुलाई तह लाउन भनेर यसरी सेलेक्टिभ स्वरूपमा बाहिर ल्याएको कुरा सामान्य कमनसेन्स भएको व्यक्तिले समेत पत्याउँदैन भन्ने सरकारी प्रोपोगण्डा मेसिनरीले बुझ्दा राम्रो।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖