• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

के विषयले तोड्यो ओली-गगनबिचको संवादहीनता ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नभेटेका नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार साँझ ओलीकै निवासमा पुगेर भेट गरेका छन् । लामो संवादहीनता तोड्दै सभापति थापा मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार र सरकारविरुद्ध विपक्षी दलहरूको गठजोडबारे छलफल गर्न ओली निवास गुण्डुमा पुगेका हुन् ।

कांग्रेसका उपसभापति मधु आचार्यका अनुसार सभापति थापा कांग्रेसको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा एमालेले लिएको समर्थन फिर्ता र समसामयिक राजनीतिबारे कुराकानी गर्न पार्टीको निर्णय अनुरूप नै ओली निवास गुण्डुमा पुगेका हुन् ।

‘सभापतिज्यू पार्टीबाट निर्णय गरेरै एमाले अध्यक्षज्यूलाई भेट्न उहाँको निवासमा पुग्नुभएको हो,’ उपसभापति आचार्यले रातोपाटीसँग भने, ‘उहाँहरूबिच हाम्रो (कांग्रेस) नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा एमालेले समर्थन फिर्ता लिएको अवस्था र समसामयिक राजनीतिबारे कुराकानी भयो ।’

एमाले अध्यक्ष ओलीले गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनदेखि नै धेरैपटक संवादको प्रयास गरे पनि थापाले भेट्न चाहेका थिएनन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका बेलामा पनि ओलीले सम्वाद गर्न चाहेका थिए, थापा तयार भएनन् ।

बरु ओलीसँग भेट गर्न तत्कालीन उपसभापति र अहिले १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति बेनका विश्वप्रकाश शर्मालाई पठाए ।

आफूसँग थापाले दूरी राखेको थाहा पाएपछि ओली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रण पाएर पनि महासचिव शंकर पोखरेललाई पठाए आफू गएनन् ।

तर, अहिले आफै भेट्न पुगे । भेट्न जानुको मुख्य कारण मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले एमालेहरू सहयोग गर्न तयार छन् तर, तपाईँहरूको सभापतिले हाम्रो अध्यक्षलाई भेट्नुपर्‍यो भन्ने गएको ब्रिफिङ थापाले पार्टीका कतिपय नेताहरूसँग गरेका छन् । एमालेले गत असोज ३० गते कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले कात्तिक २८ गतेसम्म प्रदेश सभामा विश्वासको मत लिनुपर्ने भएको छ ।

त्यही सन्दर्भमा मुख्यमन्त्री यादवको आग्रहमा थापा ओलीलाई भेट्न पुगेका हुन् ।

ओलीसँगको भेटमा सरकारका क्रियाकलापविरुद्ध विपक्षी दलहरूले गठजोड गर्ने विषयमा पनि कुराकानी भएको थियो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको पहलमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले सञ्चार गृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाएर अघि बढ्ने निर्णय गरेको थियो । त्यसबारे पनि थापा र ओलीबिच कुराकानी भएको कांग्रेस उपसभापति आचार्यले जानकारी दिए । ‘उहाँहरूबिच वर्तमान समसामयिक राजनीति र सरकारका क्रियाकलापविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भयो,’ उपसभापति आचार्यले भने ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेस प्रदेश सरकारको विषयमा कुराकानी गर्न सभापति थापाले एमाले अध्यक्ष ओलीलाई भेटेको जानकारी दिए । ‘उहाँहरूबिच भेटघाटको मुख्य उद्देश्य मधेस प्रदेश सरकारबारे हो । त्यो बाहेक समसामयिक राजनीति र सरकारका गतिविधिबारे पनि कुराकानी भयो,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने ।

यता, एमाले सचिव महेश बस्नेतले जेनजी आन्दोलनले एमाले अध्यक्ष ओलीलाई कमजोर बनाउँछ भन्ने बुझाइमा रहेकाहरू पनि सहकार्यको बाटोमा अघि बढ्न लागेको र त्यो सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘भाद्र २३–२४ को घटनाले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका नेपाली कांग्रेस र सभापति गगन थापा, नेकपा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उद्योगी, व्यवसायी, कर्मचारी र शिक्षकहरू अहिले साझा चिन्तासहित संवाद र सहकार्यको बाटोमा अघि बढ्न थालेका छन्। २३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी, विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति सबैलाई गम्भीर बनाएको देखिन्छ,’ एमाले सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरु भएको छ। यो राम्रो पक्ष हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖