काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले महाधिवेशन नगराएकाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
इतर पक्षको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै आफूले गगन थापालाई नियमित महाधिवेशन छिटाे गरौँ भन्दा आफू विदेशमा भएको बेलामा विशेष महाधिवेशन गरेको बताए ।
उनले भने, ‘मैले गगनजीलाई नियमित महाधिवेशन छिटो गरौँ । जे हुन्छ सल्लाह गरौँ भनेको थिएँ । उहाँले म विदेश गएको बेलामा उहाँहरूले महाधिवेशन सुरु गर्नुभयो। म पार्टी सभापति छु मैले महाधिवेशन गराएको छैन। त्यसकारण हामी अदालत जानुपरेको हो ।’
उनले आधिकारिकता विवादमा आर्थिक लेनदेन भएको दाबी गरे । उनले थपे, ‘कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले मेरो ज्यानको खतरा भएको छ भनेकाे मैले समाचारमा पढेकाे थिएँ । तर ठूला–ठूला कुरा गर्नेहरू १८ करोड दिएर पार्टी किन्ने ? अब पैसामा पार्टी बेच्ने हामीले ? इनम सापकोटाको कुरा आएको छ नि, कुरा स्पष्ट छ त ।’
उनले अब आफू सभापतिको चुनाव नलड्ने स्पष्ट पारे । उनले भने, ‘म सम्मानजनक रूपमा बिदा लिन चाहन्छु, मलाई कुनै लोभ छैन । मेरो उमेर र अन्य कारणले पनि ।’
ज्ञानेन्द्रको शाही शासनकालमा पनि अदालतले हिम्मत देखाएर निष्पक्ष न्याय दिएको स्मरण गरे । उनले भने, ‘मलाई विश्वास छ, अहिले पनि अदालतले निष्पक्ष न्याय दिनेछ र हाम्रो पक्षमा फैसला आउनेछ । अदालतको निर्णयपछि अरू कुरा गरौँला। बीपी कोइरालाका छोरा, गणेशमानजीका छोरा, महेन्द्रनारायण निधिका छोराहरूले आफ्नो अधिकार खोज्नुभएको हो। यो पार्टी उहाँहरूकै हो, हाम्रो पार्टी हो। हामी भोलिका दिनमा पनि सँगै रहनेछौँ ।’
