हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत फेला परेका छन्।
मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट नजिकै गुरुङ झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका ३५/३६ वर्षीय गुरुङ लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
उनी हेटौँडा किन पुगेका थिए भन्ने खुलेको छैन। घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
