बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
कात्तिक २३ गते बिहान करिब ७ः२५ बजे भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–९ निवासी २० वर्षीय मोटरसाइकल चालक दिक्षित श्रेष्ठ र पछाडि सवार १६ वर्षीय रिदम थापा घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएका थापाको उपचारकै क्रममा कात्तिक २४ गते बिहान करिब ७ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए।
दुर्घटनामा चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
