• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

‘म राजनीति गर्न आएकी होइन’:आशिका तामाङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक मजदुरलाई थर्काएको भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले आफू सांसद हुनुभन्दा ११ महिनाअघि साधारण नागरिकका रूपमा समाजका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै अहिले त्यही समयका भिडिओ सार्वजनिक गरेर आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आफू पहिले कुनै पार्टीको कार्यकर्ता नभई सचेत नागरिकका रूपमा गलत काम गर्ने जोकोहीलाई प्रश्न गर्ने र विरोध गर्ने गरेको बताएकी छन् । त्यतिबेला आफ्ना गतिविधिलाई धेरै नागरिकले समर्थन गरेको तर अहिले पुराना भिडिओ भाइरल बनाएर आलोचना गर्न थालेको उनको भनाइ छ ।

उनले केही सांसदले समेत आफ्नो हिसाबकिताब खोज्न थालेको उल्लेख गर्दै भिडिओका टुक्रा सार्वजनिक गरेर केही नहुने बताएकी छन् ।
‘मैले हिजो पनि भनेकै थिएँ र आज पनि छाती ठोकेर भन्छु म यहाँ राजनीति गर्न आएकी होइन । न त मलाई राजनीतिको रोटी सेकेर आफ्नो स्वार्थ पूरा गर्नु छ’, उनले लेखेकी छन् ।

उनले आफ्ना लाखौँ भ्युज भएका सबै भिडिओ एकैपटक सार्वजनिक गरेर भाइरल बनाउन चुनौती दिँदै किस्ता-किस्तामा भिडिओ निकालेर स्पष्टीकरण मागिरहनु झन्झट मात्र भएको उल्लेख गरेकी छन् ।

सांसद तामाङले ११ महिनाअघि आफूले गरेका गतिविधिमा नागरिकले दिएको समर्थनका स्क्रिनसट र भिडिओका लिङ्कसमेत सामाजिक सञ्जालमा राखेको बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖