• Wednesday 11th of November 2026
  • ट्रेण्डिङ :

अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुई जनाको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिका–२ क्याम्पदेखि करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा बुधबार दुर्घटना भएको हो ।

कात्तिक २५ गते दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा.००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ निवासी ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन् । बालक अर्थकको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल रिफर गरिएको छ भने दिनेशको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका–१ सिद्धचोक निवासी ४५ वर्षीय ललित सिंह ठकुराठी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ ।

अटोमा सवार ललितका १८ वर्षीय छोरा हिक्मत ठकुराठी, ३६ वर्षीया सुशिला ठकुराठी, उनकी १५ वर्षीया छोरी आशिका ठकुराठी र २५ वर्षीया शोभा डाँगा पनि घाइते भएका छन् । उनीहरूमध्ये हिक्मत र आशिकाको अवस्था मध्यम तथा सुशिला र शोभाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई सुरुमा उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको थियो । थप उपचार आवश्यक देखिएका घाइतेलाई धनगढी रिफर गरिएको हो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त दुर्घटनास्थल इलाका प्रहरी कार्यालय बेलडाँडीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖