काठमाडौ । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित घर फर्किंदै गरेका यात्रु चढेको हाइस गाडी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बुधबार राति करिब २ बजे काठमाडौँबाट सर्लाहीका लागि छुटेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनाका बेला अधिकांश यात्रु निदाइरहेका थिए। सर्लाहीको चन्द्रघट्टा गाउँपालिका–४ का मुकेश यादव पनि निद्रामै थिए। गाडी भिरबाट खसेर पल्टिएपछि मात्रै उनी ब्युँझिए।
हेटौँडा अस्पतालमा उपचाररत यादवका अनुसार गाडीमा एउटै गाउँका छिमेकी र आफन्तहरू समेत सवार थिए। सबै जना छठ पर्व परिवारसँग मनाउन घर फर्किंदै थिए।
उनले फोनमार्फत छिमेकी र आफन्तहरूसँगै गाडीको सिट रिजर्भ गरेका थिए। यसअघि पनि सोही गाडीमा यात्रा गरिसकेका र चालकलाई समेत चिनेकाले यसपटक पनि त्यही गाडी रोजेको उनले बताए।
‘हामी सबै जना सुतेका थियौँ। तल खसेपछि मात्रै गाडी दुर्घटना भएको थाहा भयो। गाडीसँगै तल पुगेका थियौँ,’ यादवले दुर्घटनाको क्षण सम्झँदै भने।
गाडी कसरी दुर्घटनामा पर्यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए। चालक निदाएका कारण दुर्घटना भएको हो वा अन्य कारणले भन्ने विषयमा पनि आफू अनभिज्ञ रहेको उनको भनाइ छ।
छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका यात्रुका लागि उक्त दुर्घटना दुःखद बनेको छ। दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन्।
