काठमाडौं । अमेरिकाको भर्जिनियास्थित अदालतमा ममता काफ्ले भट्ट हत्या मुद्दाको अन्तिम बहस चलिरहेको थियो । न्यायाधीश र निर्णायक मण्डलसामु उभिएकी सरकारी वकिल सारा सामीले एकपछि अर्को प्रमाण प्रस्तुत गरिरहेकी थिइन् । उनको निशाना थिए- ममताका श्रीमान् नरेश भट्ट ।
करिब ४७ मिनेट लामो बहसको अन्त्यतिर भने उनको स्वरमा एउटा फरक भाव देखियो । उनले अब केवल अपराधका प्रमाण र नरेशका झुटबारे कुरा गरिनन्, ममताको परिवारले भोग्नुपर्ने कहिल्यै नमेटिने पीडाको चित्र पनि कोरिन् ।
उनले निर्णायक मण्डललाई भनिन्, ‘नरेशलाई ममताको अन्तिम सम्झनासमेत नियन्त्रण गर्न नदिनुहोस् । उनलाई त्यसो गर्न नदिनुहोस् ।’
सामीले ममताको शव अहिलेसम्म नभेटिएको प्रसंग उठाउँदै परिवारले छोरीको अन्तिम संस्कारसमेत गर्न नपाउने पीडा सम्झाइन् ।
‘लुरे, भर्जिनियाको ल्यान्डफिल नै ममताको अन्तिम विश्रामस्थल बनाइएको छ । उनको परिवारका लागि ममता सधैँ हराइरहनेछिन् । उनीहरूलाई उनको अन्तिम संस्कार गर्ने अवसर कहिल्यै मिल्ने छैन । उनका अवशेष कतै फोहोरको थुप्रोमुनि थिचिएका छन्,’ उनको भनाइ थियो ।
उनले यसाे भनिरहँदा इजलासमा गहिराे स्तब्धता छाएकाे थियाे । ममताका आमा, दाइ र शुभचिन्तकहरू भक्कानिएका थिए । यो केवल एउटी महिलाको हत्या मुद्दा थिएन । एउटी छोरी, श्रीमती, आमा र परिवारकी सदस्यको जीवन कसरी अन्त्य भयो भन्ने प्रश्नसँगै उनको अस्तित्वसमेत मेटाउने प्रयास भएको अभियोजन पक्षको तर्क थियो ।
सामीले आफ्नो बहसको सुरुवात नरेशले ममतालाई पठाएको एउटा सन्देशबाट गरेकी थिइन् ।
नरेशले ममतालाई लेखेका थिए, ‘The days are coming that you will regret a lot.’
अर्थात्, अब तिमीले धेरै पछुताउनुपर्ने दिन आउँदैछन् ।
सामीका अनुसार यो सन्देश ममता हराउनुभन्दा १६२ दिनअघि पठाइएको थियो ।
उनले निर्णायक मण्डलसमक्ष भनिन्, ‘१६२ दिनपछि उनले आफ्नो वाचा पूरा गरे । १६२ दिनपछि नरेशले ममताको हत्या गरे । उनको शरीर टुक्राटुक्रा पारे र फोहोरसरह फालिदिए ।’
उनले यो सन्देशलाई नरेशको नियत र घटनाबीचको महत्त्वपूर्ण कडीका रूपमा प्रस्तुत गरिन् ।
सामीले ममता र नरेशको वैवाहिक सम्बन्धलाई सामान्य पारिवारिक विवादका रूपमा मात्र हेर्न नहुने तर्क गरिन् ।
उनका अनुसार नरेशले ममताको फोन प्रयोगमा रोक लगाएका थिए, आर्थिक पहुँच नियन्त्रण गरेका थिए र उनलाई गाडी प्रयोग गर्नसमेत कठिन बनाएका थिए ।
ममताले आफ्ना श्रीमानलाई घरमा ‘राजा’ भनेर सम्बोधन गर्ने गरेको प्रसंगलाई समेत सामीले आफ्नो बहसमा जोडिन् ।
तर उनको व्याख्यामा त्यो राजाको घर प्रेम र सुरक्षाको घर थिएन ।
‘वास्तविकता के थियो भने ममता त्रासको घरमा बाँचिरहेकी थिइन् । नरेशसँग त्यो यातनाको साम्राज्य थियो, जहाँ उनी राजा बनेर शासन गर्थे,’ सामीको भनाइ थियो ।
उनले नरेशलाई ‘मास्टर म्यानिपुलेटर’ अर्थात् अरूलाई आफ्नो नियन्त्रणमा राख्न र भ्रमित पार्न माहिर व्यक्ति तथा झुटको मालिकका रूपमा चित्रण गरिन् ।
‘आत्महत्या गरेको भए प्रहरीलाई किन बोलाएनन् ?’
अदालतमा नरेशले ममता मृत अवस्थामा भेटिएको र उनले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेका थिए । आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उनलाई बचाउने प्रयास गरेको तर डर र त्रासका कारण प्रहरीलाई खबर गर्न नसकेको उनको भनाइ थियो ।
तर शवलाई आरा र चक्कुको प्रयोग गरी टुक्र्याएको तथा फोहोरमा फालेको कुरा उनले स्वीकार गरेका थिए ।
सामीले यही स्वीकारोक्तिलाई नरेशको कथामाथि प्रश्न उठाउने आधार बनाइन् ।
‘उनले ममताको शरीर टुक्राटुक्रा पारे, फोहोरको कन्टेनरमा हाले, तर उनको मृत्युमा आफ्नो कुनै भूमिका छैन भन्ने विश्वास हामीलाई गराउन खोजिरहेका छन् । यो हास्यास्पद छ,’ उनले भनिन् ।
उनले घटनास्थलमा भेटिएको रगतको प्रमाण, सरसफाइका सामग्री, आरा खरिद गरेको विवरण, सीसीटीभी फुटेज र नरेशका विभिन्न बयानबीचको विरोधाभासलाई पनि निर्णायक मण्डलसमक्ष राखिन् ।
ममता हराएको खबर सन् २०२४ को अगस्टमा सार्वजनिक भएको थियो । त्यसपछि सुरु भएको अनुसन्धानले नरेशमाथि शंका बढाउँदै लग्यो । ममताको शव भने अहिलेसम्म फेला परेको छैन ।
करिब दुई वर्षभन्दा लामो प्रतीक्षापछि सुरु भएको मुद्दामा झन्डै छ हप्तासम्म बहस र साक्षीका बयान चले । अन्ततः नोभेम्बर १० मा निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्यासहित शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गर्यो ।
निर्णय सार्वजनिक हुँदा नरेश अदालतमा शान्त देखिएका थिए । उनकाे अनुहारमा आत्मग्लानीकाे कुनै पनि भाव थिएन । तर ममताका परिवार र शुभचिन्तकका लागि त्यो क्षण लामो प्रतीक्षापछिको एउटा महत्त्वपूर्ण क्षण बन्यो ।
नरेशले सजायस्वरूप आजीवन कारावाससम्म भोग्नुपर्ने हुन सक्छ । उनको सजाय निर्धारण सन् २०२७ मार्च १२ मा हुने तय भएको छ ।
