• Monday 23rd of November 2026

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

सर्लाही । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।

प्रहरीका अनुसार रायलाई आज दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। उनीमाथि सरकारी कागजात किर्ते गरेको आरोप छ।

घटना २०८० असार १० गतेको हो। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

यसैक्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖