दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा आमा र दुई सन्तानको मृत्यु भएको छ भने एक छोरा गम्भीर घाइते भएका छन् ।
घटना चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा भएको हो । प्रहरीका अनुसार ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादपछि परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेका थिए ।
घटनामा उनकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मा घाइते भएका थिए ।
घाइते चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिस्मालाई मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते मनिषा र ६ वर्षीय मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ रेफर गरिएको थियो । मनिषाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मिलनको भने गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
