रौतहट । जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो निलम्बनमा परेका छन् ।
डुमरिया सुरक्षा बेसमा कार्यरत हवल्दार सुरेशप्रसाद यादवमाथि आफूलाई प्रहरी नायब निरीक्षक (सइ) बताउँदै फोनमा अपमानजनक भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले महतोलाई आइतबार निलम्बन गरेको हो ।
उनले हराएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा फोन गरेका सहकर्मीलाई नै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेका थिए । उनीमाथि विभागीय कारबाही प्रक्रिया पनि अघि बढाइएको छ ।
घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले दुवै प्रहरी कर्मचारीलाई शनिबार जनकपुर बोलाएर सोधपुछ गरेको थियो ।
घटना हवल्दार यादवका १७ वर्षीय छोरा चन्दनकुमार हराएपछि सुरु भएको थियो । एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि राजधानीमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका बेला दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट हराएका थिए ।
छोराको खोजीका लागि यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी टिपाउन भनिएपछि उनले पुनः फोन गरे ।
त्यही क्रममा सञ्चार शाखामा कार्यरत महतोले ‘जय नेपाल’ नभनेको भन्दै आफूलाई अपमानजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको यादवको आरोप छ । सुरुमा आफूलाई सञ्चार शाखाको सई बताउने व्यक्ति हवल्दार भएको खुलेको थियो ।
