काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका गम्भीर आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।
इनम सापकोटालाई कांग्रेस सभापति गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको भन्ने उनकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीप्रति लक्षित गर्दै शर्माले घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले मानवअधिकार आयोगमा परेको उजुरी झुटो हो वा राज्यकै आडमा आपराधिक योजना बनिरहेको हो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन्।
उनले लेखेका छन्, ‘कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने ! इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ?’
शर्माले इनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र सीमित राख्न नहुने भन्दै सम्पूर्ण सत्यतथ्य नागरिकसमक्ष सार्वजनिक गर्नुपर्ने बताएका छन्। लोकतन्त्रको आधारभूत स्तम्भ पारदर्शिता भएकाले घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उनको भनाइ छ।
उनले यस प्रकरणमा देखिएका षड्यन्त्रका तहहरू क्रमशः खुल्दै गएको उल्लेख गर्दै निष्पक्ष र पारदर्शी छानबिनका लागि संसद्ले अग्रसरता लिनुपर्ने मागसमेत गरेका छन्।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र कांग्रेस सभापति गगन थापासहित राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।
उनकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको पाँच पृष्ठ लामो उजुरीमा प्रहरीबाट शारीरिक तथा मानसिक यातना दिइएको, आफूले नबोलेका कुरा पढ्न लगाएर अडिओ रेकर्ड गरिएको र त्यसलाई काटछाँट गरी सार्वजनिक गरिएको दाबी गरेकी छन्।
सापकोटाले बयान दिए रिहा गर्ने, नदिए लामो समय थुनामा राख्ने तथा परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको आरोप पनि उजुरीमा उल्लेख छ।
यसअघि कांग्रेसको आधिकारिकता विवादसँग जोडेर गगन थापासहितका नेताबारे इनमले बोलेको भनिएको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा कांग्रेसको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँ लेनदेन भएको दाबी गरिएको थियो।
उजुरीपछि राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ। आयोगले सम्बन्धित सरकारी निकायसँग सोधपुछ गरी हिरासतमा रहेका सापकोटाको मानवअधिकार अवस्थाबारे अनुसन्धान गर्ने जनाएको छ।
