काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले जेल जीवनबाट धेरै कुरा सिकेर आएको दाबी गर्दै देश विकास र समृद्धिका लागि आफ्नो आत्मविश्वास बढेको बताएका छन् ।
शुक्रबार गृहजिल्ला अर्घाखाँची पुगेका रायमाझीले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिए पनि भट्टीमा खारिएर स्टिल बनेर निस्किएको टिप्पणी गरे ।
‘भट्टीमा हालेर खरानी बनाउन खोजिएको थियो, भट्टीमा खारिएर स्टिल भएर आएको छु,’ उनले भने ।
जेल बसाइले आफ्नो आत्मविश्वास र क्षमता थप बढाएको दाबी गर्दै उनले पहिले आँट गर्न नसकेका विषयमा अहिले आत्मविश्वास बढेको बताए ।
‘हिजो आँट आउँथेन, आज आएको छ । देश विकास कसरी गर्नुपर्छ, देश कसरी उँभो लगाउने भन्ने शक्ति बढ्यो, सिकेर आएँ,’ उनले भने ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी गत कात्तिक अन्तिम साता थुनामुक्त भएका थिए ।
