काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई लक्षित गर्दै प्रयोग हुने ‘खराने’ र ‘घण्टे’ जस्ता शब्दबाट पनि बाहिर निकाल्ने बताएका छन्।
रास्वपाको प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विगतमा एमाले, कांग्रेस र माओवादीका समर्थकलाई ‘झोले’ भन्ने गरिएको र अहिले रास्वपाका समर्थकलाई पनि त्यस्तै शब्द प्रयोग गर्न थालिएको बताए।
उनले भने, “कसैलाई एमालेका झोले, कसैलाई कांग्रेसका झोले, कसैलाई माओवादीका झोले भन्न चलन थियो। अचेल रास्वपाका झोले पनि भन्न थालियो होला। हामीलाई भन्ने शब्द अलिक फरक छ फेरि– खराने, घण्टे ! कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौँ, खराने र घण्टे युगबाट पनि निकालौँला।”
लामिछानेको उक्त अभिव्यक्ति रास्वपाको प्रशिक्षण कार्यक्रमका क्रममा आएको हो। उनले पार्टी र समर्थकलाई सम्बोधन गर्दै राजनीतिक दलका समर्थकलाई लक्षित गरेर प्रयोग गरिने यस्ता शब्दहरूको प्रसंग उठाएका हुन्।
