• Sunday 29th of November 2026

आँबुखैरेनीमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता


  • धनकुटा खबर
  • .

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट भिरमा खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अंकित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना.४ ख ५२८५ नम्बरको बस डम्पिङ क्षेत्रमा रोकिएको बेला गुरुङ पिसाब फेर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेका हुन् ।

भिरबाट करिब ५० देखि ६० मिटर तल खसेर उनी बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले तत्काल खोजी तथा उद्धार कार्य सुरु गरेको छ । बेपत्ता विद्यार्थीको खोजीलाई तीव्र बनाउन थप सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖