सर्लाही। पूर्व-पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा गृहजिल्ला सर्लाही आइपुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। आज साँझ सदरमुकाम मलंगवामा कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
सांसद सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक उनको पुत्ला दहनसमेत गरेका छन्।
विरोध प्रदर्शनका क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले जानकारी दिए। शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारमाथि सरकारले अंकुश लगाउन खोजेको आरोप लगाउँदै उक्त समूहले पक्राउ परेका कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग गरेको छ।
यता, रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार सांसद सिंह आज राति मलंगवामै बस्ने र भोलि बिहान ७ः३० बजेदेखि पुनः पदयात्रा सुरु गर्ने कार्यक्रम तय भएको छ। सांसद सिंहको गृहजिल्ला आगमनसँगै भएको कालो झण्डा प्रदर्शन, पुत्ला दहन र पक्राउको घटनाले जिल्लाको राजनीतिक वृत्तमा चर्चा पाएको छ।
