भरतपुर । शैक्षिक भ्रमण सकेर घर फर्किने क्रममा बस रोकिएको समयमा मर्स्याङ्दी नदीमा खसेर एक विद्यार्थी बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भरतपुरस्थित पारिजात सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत अंकित गुरुङ रहेका छन्।
प्राप्त विवरणअनुसार, विद्यालयको भ्रमण टोली फर्किने क्रममा राजमार्ग नजिकैको डम्पिङ क्षेत्र आसपास बस रोकिएको थियो। सोही समयमा पिसाब फेर्न बसबाट ओर्लिएका गुरुङ अचानक चिप्लिएर तल बगिरहेको मर्स्याङ्दी नदीमा खसेका हुन्।
घटनापछि स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी तथा सुरक्षाकर्मीको टोलीले नदी आसपास खोजी कार्य सुरु गरेका छन्। बेपत्ता विद्यार्थीको अवस्था र घटनाबारे थप विवरण आउन बाँकी छ।
