• Sunday 29th of November 2026

रास्वपा कार्यालय अगाडि पत्रकार महासङ्घको धर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासङ्घले राजनीतिक दलका कार्यालय केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ। महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयअगाडि धर्ना दिएको हो।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान नगरेको भन्दै महासङ्घले विरोध जनाएको छ। समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको तथा सञ्चारमाध्यममाथि अवरोध सिर्जना गर्नेहरूमाथि कारबाही नभएको महासङ्घको दाबी छ।

पत्रकारहरूको पेसागत सुरक्षा र श्रम अधिकारसमेत संकटमा परेको महासङ्घको भनाइ छ। गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती हटाइएको र श्रम अधिकार उल्लङ्घन गरिएको भन्दै महासङ्घले आपत्ति जनाएको छ। त्यस्तै, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषय पनि आन्दोलनमा उठाइएको छ।

महासङ्घले राजनीतिक दलहरूलाई प्रेस स्वतन्त्रताका सवालमा जिम्मेवार बनाउन पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम अघि सारेको हो। निर्धारित कार्यक्रमअनुसार १३ मंसिरमा रास्वपा, १४ मंसिरमा नेपाली कांग्रेस, १५ मंसिरमा नेकपा एमाले, १६ मंसिरमा नेपाली कम्युनिस्ट पार्टी, १७ मंसिरमा श्रम संस्कृति पार्टी र १८ मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिइनेछ।

त्यसैगरी, २० मंसिरमा काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर विरोध प्रदर्शन गर्ने महासङ्घले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖