लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिक समुद्री क्षेत्रमा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि कम्तीमा ४० वटा परकम्प महसुस गरिएको छ । भूकम्पका कारण घर, पसल र विमानस्थलमा सामान खसेका छन् भने मानिसहरू डराएर बाहिर निस्किएका थिए।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ९ : ३० बजे स्थानीय समयअनुसार म्यानहटन बिच सहरबाट करिब ३.७ माइल (६ किलोमिटर) दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्प करिब ७.६ माइल (१२.२ किलोमिटर) गहिराइमा गएको थियो।
भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल (एलएएक्स) मा छतका टायल खसेका थिए भने धुलो र सिसा झरेपछि यात्रुहरू केही समय टेबलमुनि बसेर जोगिएका थिए । किराना पसल तथा समुद्री किनारका पसलहरूमा सामान खसेपछि मानिसहरू बाहिर भागेका थिए । हर्मोसा बिचस्थित एक पसलमा वाइनका बोतलहरू खसेका थिए भने पार्किङ क्षेत्रमा कारका अलार्म बज्न थालेका थिए।
भूकम्पपछि ४.५ म्याग्निच्युडको परकम्प बिहान ११ : ४१ बजे गएको थियो। त्यसपछि साँझ ८ बजेपछि हर्मोसा बिच नजिक ४.० म्याग्निच्युडको अर्को परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
लस एन्जलसका मेयर करेन बासले भूकम्प यहाँ नियमितजस्तै अनुभव हुने भए पनि यसपटकको धक्का तुलनात्मक रूपमा शक्तिशाली र सहर नजिक भएकाले बढी महसुस भएको बताइन्। उनले सर्वसाधारणलाई सामान्य गतिविधि जारी राख्न आग्रह गरिन्।
अधिकारीहरूका अनुसार भूकम्पबाट ठूलो क्षति वा मानवीय चोटपटकको विवरण प्राप्त भएको छैन। विमानस्थलमा उडान सञ्चालन सामान्य रहेको छ। यद्यपि, आगामी केही दिनमा थप परकम्प आउन सक्ने चेतावनी दिइएको छ।
